
औद्योगिक तथा व्यापारिक नगरीका रूपमा परिचित वीरगन्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण आजित भएका छन् ।
वीरगन्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।
होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यही कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो ।
वीरगन्ज ६, मीनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगन्जमा लामखुट्टे देखिए पनि वीरगन्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताउँछन् ।
वीरगन्जको नाला खुल्लै छन् । जसको कारणले लामखुट्टेको आतङ्क बढेको स्थानीय बताउछन् । डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो ।
डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ । वीरगन्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगन्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरू गर्न लागेको जानकारी दिए ।
महानगरले लामखुट्टको लार्भा मार्नका लागि बिहानदेखि साँझमा नालामा पम्प स्प्रेबाट लार्भा साईटिङ स्प्रे तीन पटक तथा वयस्क लामखुट्टे मार्न बेलुकीदेखि रातिसम्म ऐयर स्प्रे दुई पटक छर्ने कार्यक्रम राखेको जनाएको छ ।
यद्यपि वीरगन्ज महानगरले गत फागुन २५ गते लामखुट्टे नियन्त्रणको लागि चैत ३ गतेदेखि पम्प तथा ऐयर स्पे कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो । यो अभियान आइतबारदेखि चैत २४ गतेसम्म जारी रहने बताइएको छ ।