
सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असदलाई युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
अदालतले असदका भाइ माहेर अल–असदलाई पनि युद्धका क्रममा भएका अपराधमा दोषी ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्ड सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसैगरी, असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्वप्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाइएको छ। नजीबलाई भने अदालतमा उपस्थित गराएर फैसला सुनाइएको थियो। उनीमाथि सन् २०११ मा दारामा भएको सरकारविरोधी प्रदर्शनमाथिको दमनमा हत्या, यातना तथा अन्य गम्भीर अपराधमा संलग्न भएको आरोप थियो।
सिरियामा सन् २०११ मा सुरु भएको सरकारविरोधी आन्दोलन पछि लामो गृहयुद्धमा परिणत भएको थियो। उक्त द्वन्द्वमा करिब पाँच लाख मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएको अनुमान छ।
बशर अल–असदका पिता हाफेज अल–असदले सन् १९७१ देखि सिरियामा शासन गरेका थिए भने बशरले सन् २००० मा सत्ता सम्हालेका थिए। यसरी असद परिवारले पाँच दशकभन्दा बढी समय सिरियामा शासन गरेको थियो। सन् २०२४ को अन्त्यमा विद्रोहीको तीव्र सैन्य अभियानपछि असद सत्ताच्युत भएका थिए र त्यसपछि रुसमा शरण लिएका छन्।