
पर्वतको मोदी गाउँपालिका- ५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले पाँच लाख ३५ हजार प्रदान गरेका छन् ।
जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन निर्माण भएका थिए । यसपटक उनीहरूले बस खरिद गर्न उक्त रकम विद्यालयका प्रधानाध्यापक अजय लामिछानेलाई बिहीबार हस्तान्तरण गरेका हुन्।
यसअघि जापानको नागासाकी निची लायन्स क्लबले बस खरिद गर्न १० लाख रुपैयाँ प्रदान गरेको थियो । उक्त रकबाट बस खरिद गर्न अपुग भएपछि विद्यालयले स्थानीय मोदी गाउँपालिकासँग १५ लाख सहयोग मागेको थियो ।
उक्त पालिकाबाट ऋण प्राप्त नभएका बेला जापानी दम्पतीबाट सहयोग भएको प्रधानाध्यापक लामिछानेले बताउनुभयो ।
उनीहरूले गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला समेत सिकाउने गरेका छन् ।