काठमाडौँ, चैत ३ :

प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रूपान्तरित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मदन भण्डारी कला- साहित्य प्रतिष्ठानद्वारा आज आयोजित तीनदिने हिमवत्खण्ड कला- साहित्य- संस्कृति सम्मेलन, २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले हिमवत्खण्ड सम्मेलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको तथा राम्रो मन्थन भएको आफूले पाएको बताए ।

सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुआत यही हिमवत्खण्डबाट हुनुको असाधारण महत्व रहेको चर्चा गर्दै उनले यो भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक  विविधताको नमूना भएको बताए । 

प्रधानमन्त्री ओलीले हिमवत्खण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गरेका थिए । समापनसत्रमा छानिएका कविहरुले कवितावाचन गरेका थिए ।

नेपाल र विदेशका गरी करिब ५०० स्रष्टा सहभागी उक्त सम्मेलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । यही चैत १ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त सम्मेलनको उद्‌घाटन भएको थियो ।