
काठमाडौं, चैत ५ :
त्रिविका ६२ मध्ये ३८ आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको छ । त्रिवि केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य -सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६२ मध्ये ३८ वटा आंगीक क्याम्पसमा चुनाव भएको हो ।
दुईवटा क्याम्पसमा भने चुनाव रोकिएको छ । मतदान सुरु भएको केही समयपछि नै विवाद उत्पन्न भएका कारण पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको हो ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो । यद्यपि लाइनमा बसेकाहरुले भने निर्धारित समयभन्दा ढिलोसम्म पनि भोट हाल्न पाए ।
पृथ्वीनारायणमा भोलि पुनः मतदान हुने र पाटनमा सहमतिको प्रयास भइरहेको जनाइएको छ । ३८ वटामा आज निर्वाचन भएको र नभएका क्याम्पसहरुमा १५ दिनभित्रमा चुनाव गराउने तयारी छ ।