काठमाडौं, चैत ६ :

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकामा अवैध गतिविधि र भिसा दुरुपयोग गर्ने व्यक्तिहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ।

दूतावासले बुधबार सामाजिक सञ्जालबाट अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाट निष्कासन गर्ने  चेतावनी दिएको हो।

दूतावासले भन्यो , ‘अमेरिकाको कानुन उल्लङ्‍घन  गरेमा भिसा रद्द गरेर सम्बन्धित व्यक्तिलाई अमेरिकाबाट बाहिर पठाइनेछ। अमेरिकी भिसा जारी गरेपछि पनि दूतावासले समयसमयमा भिसा वाहकहरूको नियमित जाँच गर्ने छ।’ यसअघि, अमेरिकी दूतावासले अवैध आप्रवासनको खतरा र यसका नकरात्मक परिणामहरूको बारेमा पनि चेतावनी दिएको थियो।

‘हामी भिसा जाँचको प्रक्रिया रोक्दैनौं। अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना नगरेमा हामी भिसा रद्द गरेर देशबाट निष्कासन गर्नेछौं,’ दूतावासले उल्लेख गरेको छ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासन नीतिमा कडाइ गरिएको छ । जसका कारण धेरै नेपाली नागरिकलाई अवैध बसाइको कारण निष्कासनको सामना गर्नुपरेको छ। अमेरिकी दूतावासले  नेपालका नागरिकलाई अमेरिका जानु अघि कानुनी प्रक्रिया र आप्रवासन नियमहरूको पालना गर्न सजक गराएको छ।