काठमाडौं, चैत ७ :

माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले देशभरका केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको जानकारी दिए । उनले हालसम्म कुनै पनि केन्द्रमा समस्या नआएको पनि जनाए ।

यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गत वर्षको एसईईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको उल्लेख गरे । परीक्षाका लागि प्रत्येक केन्द्रमा एक केन्द्राध्यक्ष, १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष, २० विद्यार्थीबराबर एकजना निरीक्षक खटिएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन ।

एसईईअन्तर्गत जापानको एक परीक्षा केन्द्रमा २९ विद्यार्थी सहभागी छन् । जापानमा परीक्षा सुरु हुनुभन्दा केही समयअगाडि इमेलमार्फत प्रश्नपत्र पठाइएको उनले जानकारी दिए । काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिएका छन् ।

यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । यस वर्ष सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङमा ४३ जनाले परीक्षा दिएका छन् ।

आजदेखि सञ्चालन भएको परीक्षाको तालिकानुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा सम्पन्न भएका हुन् ।

भोलि (चैत ८ गते) अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इंग्लिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले यस वर्ष आगामी असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ । साथै न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेसमेत बोर्डको भनाइ छ । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य छ । २०८० सालको एसईईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।