
काठमाडौं, चैत ७ :
प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (बिहीबार) भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत थियो ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायतको सहभागिता थियो ।