
भक्तपुरको बोडे निलबाराहीस्थित पिकनिक स्थलमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ। मृतक ६६ वर्षीय ओमप्रकाश राईको दाइने कान र टाउकोमा चोट देखिएको छ । खोटाङको केपिलासगढी गाँउपालिका २ का स्थायी बासिन्दा राई हाल बोडेमा बस्दै आएका थिए।
प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेका अनुसार उनी कवाडीको सामान टिप्ने काम गर्थे। प्रहरीले हत्याको आशंकामा अनुसन्धान अगाडि बढाएको छ।
यस्तै,महोत्तरीको सागरनाथ जंगलमा एक युवकको शव हत्या गरि फेला परेको छ। २५ वर्षीय शिवशंकर महतोको शव शुक्रबार साँझ सागरनाथ वन क्षेत्रको रेल्वे ट्रयाक नजिक भेटिएको हो। स्थानीय प्रहरीले जानकारी दिए अनुसार, धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरिएको र शवको मुखमा आगो लगाइएको अवस्थामा भेटिएको छ।
शिवशंकर महतो धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-८ का स्थायी बासिन्दा थिए। उनी गत बिहीबार आफ्नी श्रीमती र १० महिने छोरासँग ससुराली जानका लागि घरबाट बाहिरिएका थिए। परिवारका अनुसार, महतो र ससुराली पक्षसँग केही दिन अघि विवाद भएको थियो र त्यो क्रममा महतोलाई कुटपिटसमेत गरिएको थियो।
प्रहरीले हत्याको आशंका गर्दै अनुसन्धान अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पतालमा राखिएको छ।