काठमाडौं, चैत १० :

यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ का १० वटा ‘क्यारेक्टर पोस्टर’हरू एकसाथ सार्वजनिक गरिएको छ ।

चलचित्रको कथाभित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ । जहाँ चलचित्रका धेरैजसो पात्रहरूको परिचय पाइन्छ ।

प्रदर्शनको नजिक रहँदा सार्वजनिक पोस्टरहरूमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएका छ ।

चलचित्रका कलाकारमा अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्‌देल र कविता आले छन् । यसअघि नै एक कलाकार वीरेन्द्रसिंह कुशवहाको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको थियो ।

केही दिन अघि 'डोरी'को ट्रेलर सार्वजनिक गरिएको थियो । कमेडीसँगै केही थ्रिल तथा हरर दृश्यहरूसमेत रहेको ट्रेलर शीर्षकवरपर घुमेको छ । ट्रेलरबाट दर्शकमा चासो बढेको छ । साथै, चलचित्रको ‘चुच्चे ढुङ्गो’ शीर्षकको गीत पनि सार्वजनिक भएको थियो, जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्रसिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् । कार्यकारी निर्माता राज थापा छन् । चलचित्रको स्क्रिप्ट मनोज पण्डित हुन् । मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज शिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनिश फागो छन् ।