
प्रधानमन्त्री केपी ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले आज (आइतबार) आयोजना गरेको टुगेदर फर टुमरो : युथ एन्ड द प्राइममिनिस्टर कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।
‘हामीले थुप्रै मेडिकल कलेजहरु बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ,’ उनले भने, ‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ । त्यो बन्ने प्रतीक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढंगले चल्नु हुँदैन । अहिले जति पनि समस्याहरु छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे । कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १४० युवाको सहभागिता थियो ।
उनीहरुले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रुपमा प्रतिवेदन ल्याउन आग्रह गरे । उनले त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।