
काठमाडौं, चैत १८ :
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभा समक्ष माफी मागेका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा उनले आफ्नो अभिव्यक्तिका कारण सांसदहरूको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
विगतको छलफलमा आफूले प्रयोग गरेका शब्दहरुले सांसदहरुको भावनामा चोट पुग्यो महसुस गर्दै गुरुङले शैली सच्याउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
कसैलाई होच्याउने आफ्नो मनसाय नभएको जनाउँदै उनले कहिलेकाहीँ फरक सुनिन सक्ने बताए ।
‘विगतको छलफलमा मैले जेजे शब्दहरू प्रयोग गरेँ, त्यसले तपाईंहरूको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो,’गुरुङले भने, ‘मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।’