
फुटबलप्रेमीहरूका लागि खुसीको खबर । ब्राजिलियन फुटबलर रोबेर्टो कार्लोस जारी एनसेल नेपाल सुपर लिगमा आउने भएका छन्।
शनिबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा आयोजकले कार्लोस चाँडै काठमाडौं आउने जानकारी दिएका हुन्। कार्लोसले नेपाली फ्यानलाई लक्षित गर्दै एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘छिट्टै भेटौँला नेपाल।’
५१ वर्षीय कार्लोस ब्राजिलको राष्ट्रिय टोली र युरोपेली जायन्ट रियल मड्रिडका पूर्व डिफेन्डर हुन्। उनी २००२ मा ब्राजिललाई विश्वकप जिताउने टोलीका महत्वपूर्ण सदस्य थिए। साथै, १९९८ को विश्वकप उपविजेता टोलीका पनि उनी हिस्सा थिए।
उनको नाममा दुई वटा कोपा अमेरिका उपाधि र एक कन्फेडेरेसन कप पनि दर्ज छ। मैदानमा उनी विशेषगरी तीव्र गतिका रन, शक्तिशाली फ्री-किक र बलमा नियन्त्रणका लागि चिनिन्थे।
नेपाल सुपर लिगमा विश्वस्तरीय फुटबल आइकनको उपस्थिति हुने जानकारीसँगै प्रतियोगिताको चर्चा झनै चुलिएको छ। आयोजकहरूका अनुसार कार्लोसको आगमन नेपाली फुटबलप्रेमीका लागि प्रेरणादायक हुने अपेक्षा गरिएको छ।