काठमाडौँ, चैत २५ :

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

थाई एअरको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स- रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार पक्राउ परेका उनलाई आज सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।