
काठमाडौं, चैत २६ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा खबरदारी सभा गर्दै छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले आज बल्खुमा जुलुससहित सभा गर्न लागेको हो ।
गत चैत १५ गतेको राजावादीको प्रदर्शनले झस्किएको सरकारले राप्रपालाई बल्खुमा सभा गर्न अनुमति दिएको हो । राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजेको थियो । कार्यक्रमलाई शान्तिपूर्ण बनाउन राप्रपाले आह्वानसमेत गरेको छ ।
खबरदारी सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय छ ।
राप्रपाले आज गर्ने प्रदर्शनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । यही १५ चैतमा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको हो । अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।