
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ पाँचौं सातामा प्रवेश गरेको छ । यो चलचित्रको लोकप्रियता कायम रहिरहँदा पाँचौं हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ । जुन रिलिजको पहिलो दिनको भन्दा ५० प्रतिशत मात्र कम हो ।
मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले यो सातादेखि दुई चर्चित नेपाली चलचित्र तथा केही विदेशी चलचित्रसँगै हलमा रिलिज हुनुपर्नेछ । नेपाली दर्शकको रोजाइमा परिरहेको ‘अञ्जिला’ गत वर्षको उत्कृष्ट ५ सूचीमा परिसकेको छ । यसको व्यापार कायम रहेको हुँदा सूचीमा उकालो लाग्ने सम्भावना कायमै छ ।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । एन्जिला अघिल्लो साता ग्रिसबाट नेपाल आएर देशभरका दर्शकलाई प्रत्यक्ष भेटेकी थिइन् । उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किसकेकी छिन् ।
यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।