काठमाडौं, चैत २८ :

होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यू-१९ उमेर समूहमा बिहीबार च्याम्पियन बनेका छन् । सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा इभाना पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६-११, ११-६, ११-९ र ११-६ को सेटमा पराजित गरे ।

गर्ल्सको उपाधि भिडन्तमा इभानाले एभीएमकै वियंका राईलाई ७-११, ११-१, ११-७ र ११-९ को सेटमा हराइन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा खोल्छा पुखुका समिप श्रेष्ठ पहिलो भए । उनले फाइनलमा इखाछें स्पोर्ट्स क्लबका मुकेश महर्जनलाई ११-९, ९-११, ११-९ र ११-५ को सेटमा पाखा लगाए ।

प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यू-१५ सिंगल्सको ब्वाइजमा एभीएमका जयस्नु महर्जन र गर्ल्समा नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निसान श्रेष्ठ तथा ६० वर्षमाथि पुरुष सिंगल्समा रजन सुब्बाले स्वर्ण जितेका थिए ।

विजेतालाई आयोजक एकेडेमीका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र डा. मधुसुधन सुवेदी, प्रतियोगिता संयोजक धर्ममान वज्राचार्य, टेबलटेनिसको महिला सिंगल्समा ९ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा २५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । सातै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २५ सय रुपैयाँ नगद पुरस्कार हात पारे ।