
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले माइकिङ गरेको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन अहिले बानेश्वरतर्फ अघि बढेको छ। प्रदर्शनका क्रममा राजावादीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सचेत गराउँदै प्रहरीले माइकिङ गरेको हो।
शनिबार नै राप्रपाले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै आजको प्रदर्शन गरेको हो । राजतन्त्र पुन:स्थापनाको माग राखेर राप्रपाले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।
यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा छन् । पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ ।