बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

‘अरुण तेस्रो देशकै महत्त्वपूर्ण आयोजना हो, सरकारले उच्च प्राथमिकता दिएको छ’

भारतीय समकक्षीसँगै ऊर्जामन्त्री खड्काले गरे अरुण तेस्रो आयोजनाको अवलोकन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ वैशाख, २०८२ मा प्रकाशित
‘अरुण तेस्रो देशकै महत्त्वपूर्ण आयोजना हो, सरकारले उच्च प्राथमिकता दिएको छ’
काठमाडौं, वैशाख ९ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका  विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरे । सोही क्रममा खड्का र खट्टरले आयोजनाको ‘युनिट-२’को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावरहाउस नजिक बिरुवारोपणसमेत गरे ।

अवलोकनका क्रममा मन्त्रीद्वयले ठेकेदार कम्पनीसँग अहिलेसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएको समस्याबारे जानकारी लिएका थिए । ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।

‘अरुण तेस्रो देशकै महत्त्वपूर्ण जलविद्युत् आयोजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ,सरकारले कुनै कमी हुन दिँदैन । तपाईंहरुले आयोजनालाई चाँडो सम्पन्न गर्न लाग्नुहोस्,’ खड्काले भने ।

भारतका विद्युतमन्त्री खट्टरले नेपाल जलविद्युत्‌को क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताए । उनले अरुण तेस्रो जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिए । भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाटको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

एक खर्ब चार अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले पाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार