
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू उठाएको उद्घोष गरेका छन् ।
अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘सम्पदा भनेको सभ्यताको पहिचान हो । यी हाम्रा परिचयका प्राण तत्त्व पनि हुन् । यसमा केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तुसमेत छन्,’ उनले भने, ‘त्यसैले हाम्रो इतिहास छ । हाम्रो इतिहास दर्बिलो छ ।’ उनले भूकम्पपछि ढलेका सम्पदाहरुको पुरातात्त्विक संरक्षण या पुनर्निर्माण परम्परागत शैलीमै गरिएको पनि बताए ।
‘ललितपुरमा पनि कला जीवित छ। भक्तपुरमा पनि जीवित छ । काठमाडौँमा जीवित छन् । हाम्रा अरनिको अहिले पनि जीवित छन् । त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो,’ उनले भने, ‘युनेस्कोको सम्पदा सूचीमा हाम्रा सम्पदालाई जोड्न खोज्छौँ । त्यसैले हाम्रा सम्पदाहरु विश्वव्यापी छन् ।’ उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताए ।
मन्त्री पाण्डेले स्थानीयको सहभागिताविना सम्पदाहरुको संरक्षण गर्न नसकिने धारणा राखे । उनले भूकम्पका कारण हाम्रा थुप्रै सम्पदा ढलेका बताए । अहिले ती सम्पादाहरु उठ्ने क्रममा रहेको मन्त्री पाण्डेको भनाइ छ । ‘भूकम्पपछि ढलेका सम्पदाहरु उठ्ने क्रममा छन्,’ उनले भने, ‘ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ । हाम्रा आस्था पनि उठेका छन् । र हाम्रो आत्मविश्वास पनि उठेको छ । हामी गर्न सक्छौं, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षासमेत गर्न जरुरी छ ।’
उनले मुलुकमा भूकम्प जुनसुकै बेला र जतिसुकै बेला आउन सक्ने बताउँदा सम्पदाहरु निर्माण गर्दा त्यसबाट सचेत हुन जरुरी रहेको बताए । मन्त्री पाण्डेले काठमाडौंभित्रका थुप्रै हनुमानढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दिरलगायत सम्पादाको संग्रह र व्यवस्थित गर्नुपर्ने औंल्याए ।