काठमाडौं, वैशाख १५ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता समीकरणलाई निरन्तरता दिइने बताएका छन् ।

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज (सोमबार) आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा थापाले अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्ने बताए ।

उनले भने , ‘अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्ने तर यसका लागि सरकारले मन जित्ने गरी काम गर्नुपर्छ।’ उनले एमालेसँगको सहकार्यअनुसार नै सरकार अगाडि बढ्ने र संघ तथा प्रदेशमा राजनीतिक स्थिरता कायम रहने स्पष्ट पारे।

थापाले राजनीतिक असन्तुष्टि र बेचैनीलाई उत्तेजनाको माध्यम बनाउने प्रवृत्तिबाट बच्न सबैलाई आग्रह गरे। उनले आम नागरिकमा राजनीतिक उपलब्धिहरूप्रति सन्तोष भए पनि सामाजिक तथा आर्थिक जीवनमा अपेक्षित परिवर्तन नआएकाले गहिरो असन्तोष र बेचैनी देखिएको बताए।

महामन्त्री थापाले हालै संसदले पारित गरेको केही कानूनलाई सुरुवाती प्रयासका रूपमा लिए पनि त्यसबाट सकारात्मक संकेत आएको बताए।