
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल शान्ति प्रक्रियासँग सम्बन्धित सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी नियुक्तिबारे केन्द्रित रहेको छ।
छलफलमा एमाले उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् ।
सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुई आयोगका लागि पदाधिकारी सिफारिस गर्ने समिति गठन गरिसकेको छ । तर, आयोगमा नियुक्तिका लागि प्रमुख तीन दलबीच अझै सहमति जुट्न सकेको छैन ।
यसअघि वैशाख १८ गते उक्त विषयमा सहमति जुटाउन तीन दलबीच बैठक बोलाइएको थियो । तर, माओवादी अध्यक्ष दाहाल सो बैठकमा अनुपस्थित भएका थिए । आजको छलफलले आयोगमा नियुक्तिको विषयमा सहमति खोज्ने प्रयास स्वरूप लिइएको बुझिएको छ ।