काठमाडाैं, वैशाख २१ :

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले प्रिन्टिङ मेसिन खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले उनलाई कैद र जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार(आज) सुनाएको फैसलामा पौडेलसहित तीन जनालाई दोषी ठहर गर्दै जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो ।

साथै, म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेनलाई पनि दोषी ठहर गरिएको छ । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग दाबीअनुसार ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै सो रकम दोषी तीनै जनाबाट असुल्ने आदेश दिएको छ ।

पौडेलमाथि दुईवटा कसुरमा गरी दुई वर्ष कैद र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेकाले थप ६ महिनाको कैद सजाय तोकिएको छ । अकबर हुसेनलाई डेढ वर्ष कैद सजाय सुनाइएको छ ।

यही प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।तर, विशेष अदालतले उनीहरूलाई सफाइ दिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ वैशाख ३० गते उक्त प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।