
सिरहा, वैशाख २३ :
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फसेकी एक वृद्ध महिलाको सकुशल उद्धार गरिएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली र स्थानीयको सहयोगमा बाढीमा फसेकी ६० वर्षीया रामदुलारी ठाकुरको आज उद्धार गरिएको वडाध्यक्ष प्रदीपकुमार साहले जानकारी दिए।
‘खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बीच भागमा पुगेर उहाँ फस्नुभएको रहेछ,’ साहले भने, ‘ खबर पाउनासाथ इलाका प्रहरी कार्यालयको टोली र स्थानीय मिलेर करिब दुई घण्टाको प्रयासपछि सकुशल उद्धार गरियो ।’
अध्यक्ष साहका अनुसार यस स्थानमा पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल समयमै सम्पन्न नहुँदा वर्षामा स्थानीयलाई आउजाउ गर्न समस्या हुँदै आएको छ ।