सुनसरी, वैशाख २७ :

सुनसरीको दुहबीमा दाउरा बोकेको पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र.२–०१–००१च ०२५१ नम्बरको पिकअप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म, काठमाडौँमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नगरपालिका–८ राजाबासका ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा घाइते भएका चालक उदयपुर चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र  उनकी १४ वर्षीया छोरी रोजिना कार्कीको विराट टिचिङ अस्पताल, बूढीगंगामा उपचार भइरहेको छ।