सडक,यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ ।
मालिका-७ बिम नागीथला र रघुगङ्गा-६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो ।
समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक वर्ष चण्डी (वैशाख पूर्णिमा),भाइटीका र बालाचर्तुदर्शीका दिन धार्मिक मेला लाग्ने गर्दछ । सडक र यातायातको सुविधाका कारण भक्तजनको आगमन बढेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।
“मालिकामा पूजाआजा,दर्शन र दृश्यावलोकन गर्न आउनेहरू अब पहिला यहाँ पुगेर टहरा,ओडारमा बास बस्नु पर्दैन”,उहाँले भन्नुभयो,“बिहान घरबाट गाडी चढेर आएका भक्तजन मालिकामा पूजा गरेर दिउँसै घर पुग्न सक्ने अवस्था बनेको छ ।”
सोमबार बिहानदेखि दिउँसो २ बजेसम्म चार हजार ५०० भन्दा बढी भक्तजनले मालिकामा पूजा गरेका अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ म्याग्दीको साथै पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरू बढी आउने गर्दछन् । यसअघि मालिका दर्शनका लागि भक्तजनहरू अघिल्लो दिन नजिकै गएर जङ्गलको ओडार र टहरामा बास बस्ने गर्दथे ।
दुई वर्षअघि मालिका दर्शनका लागि दुई दिन लगाएर पुग्नुभएकी बेनीकी सानु शर्माले यसपालीको चण्डी पूर्णिमामा बिहान ६ बजे बेनीबाट गएर दिउँसो ३ बजे पुनः बेनी फर्किएको बताउनुभयो ।
मालिका गाउँपालिकाको बिमतर्फबाट नागीथलासम्म पहुँच विस्तार भएको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ । रघुगङ्गा गाउँपालिकाको ठाडाखानीतर्फबाट देउरालीसम्म सवारीसाधनमार्फत र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिकाधुरीमा पुगिन्छ ।
यहाँबाट २० भन्दा बढी हिमशृङ्खला,सूर्योदय,म्याग्दीका ३५ भन्दा बढी गाउँ,लालीगुराँस,वन्यजन्तु,पशुपक्षीको अवलोकन गर्नुका साथै मालिकाधुरीमा पूवा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले जानकारी दिनुभयो । यी विशेषताका कारण यस क्षेत्रको धार्मिक महत्त्व रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मालिकाधुरी पर्ने गरेको उहाँले बताउनुभयो ।
“मालिकाधुरीमा मालिका,कालिका र जाल्पादेवीको मूर्ति छ । मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ”,सचिव रोकाले भन्नुभयो ।
चण्डी पूर्णिमामा आएका भक्तजनहरूबाट रु ९० हजार भेटी सङ्कलन भएको जनाउँदै सबै खर्च कटाएर रु ६७ हजार बचत भएको समितिका अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार मालिकाधुरीमा रघुगङ्गा-६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा शिव र जालपाको मन्दिर निर्माण गर्नुभएको छ । मन्दिर निर्माणमा पाइजाले करिब रु ३४ लाख खर्चनुभएको उहाँले उल्लेख गर्नुभयो ।