काभ्रे, वैशाख ३० :

लगातारको वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी मीनबहादुर घलेका अनुसार आज दिउँसो १ बजेदेखि राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।

सोमबार बेलुका करिब ८:४५ बजे काभ्रेको रोशी गाउँपालिका–१२ को माम्तीस्थित रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। यस स्थानमा गत वर्ष असोजको बाढीले सडक बगाएपछि अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो।

बाढीका कारण मंगलटारतर्फको सडकसमेत बगाउँदा थप क्षति पुगेको र रातभर प्रयास गर्दा पनि सडक खुलाउन नसकिएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार खोलाको बहाव डाइभर्ट गरेर सडक खुलाउने कार्य सम्पन्न भएको छ।

सडक विभागका चार वटा जेसीबी र पाँच वटा टिपर प्रयोग गरी बिहानैदेखि डाइभर्सन बगाएको स्थानमा फिलिङ गरिएको थियो। प्रमुख ईञ्जिनियर गिरीका अनुसार डाइभर्सन पुरिएपछि मात्रै सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।

अवरुद्ध सडकका कारण पूर्वतर्फ जाँदै गरेका सवारीसाधनलाई भकुण्डेबेसीमा र काठमाडौंबाट पूर्व आउँदै गरेका गाडीलाई खुर्कोट र नेपालथोकमा रोकिएको थियो। अहिले ती सवारीहरूलाई क्रमशः गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।