
सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु-
मेरा निम्ति गहिरो सम्मान र हार्दिक अवसर दुवै हो ।
नेपालको विश्वसँगको यो संवाद-पहलकदमी-
गहन विचार विमर्शको लागि प्लेटफर्म,
सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर,
र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो ।
आज, 'लोकल र ग्लोबल' छुट्याउने सीमाहरू लगभग हराइसकेका छन् ।
संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ ।
एउटा भूभागमा सल्किएको डढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ ।
टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन् ।
केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ ।
यही गहिरो अन्तरनिर्भर यथार्थभित्र-
इमानदार संवादको लागि स्थान,
आपसी ज्ञान साटासाट गर्न,
र सामूहिक कदम चाल्न,
- सगरमाथा संवादको जन्म भएको हो ।
हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं- सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर!
र आशा गर्छौं- यो संवाद - हाम्रो संवाद- त्यत्तिकै उच्च बनोस् ।
उच्च नैतिक स्पष्टतामा,
दृढ बौद्धिक साहसमा,
र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा ।
महिला तथा सज्जनबृन्द,
आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ ।
चुनौतीहरू विशाल छन्- र तीव्र रूपमा नजिकिंदै छन् ।
महामारीपछिको पुनःस्थापना अझै नाजुक छ ।
जलवायु सङ्कट झन् तीव्र बन्दै छ ।
संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ ।
वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ ।
असमानता- देशभित्र र देशहरुका बीचमा- गहिरिँदो छ ।
एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ ।
र अझै-
यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौंः
संवादको शक्ति ।
महिला तथा सज्जनबृन्द,
नेपाल भूगोलको टुक्रा मात्रै होइन ।
यो पवित्र भूमि हो- जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ ।
यहीँ, चेतना जागृत भएको थियो ।
यो बुद्धको भूमि हो ।
यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो-जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो ।
यो त्यही भूमि हो-जहाँ सन्तहरूले ध्यान गरे ।
साधकहरुले सत्य फेला पारे ।
र जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे ।
नेपाल सदा-खोजकर्ताहरूको थलो रहँदै आएको छ ।
विजेताहरूको होइन-चिन्तकहरूको,
युद्धको होइन-संवादको ।
हाम्रो परम्परा, आदरपूर्वक- आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ ।
सच्चा मनले- बोल्नेमा,
र सँगसँगै- सत्य खोज्नेमा ।
सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो ।
हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन ।
यस्तो 'स्पेश' जहाँ प्रज्ञा नतमस्तक हुन्छ- विनम्रताका साथ ।
जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन्- श्रद्धाका साथ ।
र जहाँ जवाफ खोजिन्छन्- अहम् बाट होइन, सहअनुभूतिका साथ ।
हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछः
"वादे वादे जायते तत्त्वबोधः"
-अर्थात् संवादबाटै सत्य ।
चर्को विभाजनको घडीमा पनि-
न मौनताले काम गर्छ, न त कर्कस आवाजले ।
सत्य संवादले काम गर्छ ।
सुन्ने/ गुन्ने क्षमताले- अन्तर्मनको वचनले ।
सगरमाथा संवाद-
यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो ।
हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छ:
"जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य ।"
हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन-
यो त हाम्रो दैनिक यथार्थ हो,
तर, केवल हाम्रो मात्र होइन-
विश्वकै साझा चिन्ताको विषय हो ।
हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?
के हाम्रो भविष्य हाम्रा यी प्राचीन 'संरक्षक'हरूका संरक्षणबिना बचाउन सकिन्छ?
हिमालहरू टाढाका लाग्न सक्छन्-
तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ ।
आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म-
तिनीहरू पृथ्वीका जल-भण्डार हुन् ।
तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन् ।
र, तिनीहरू अहिले भयङ्कर संकटमा छन् ।
तिनीहरूको नाजुकता- हाम्रो साझा असुरक्षित अवस्था हो ।
संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट,
हामी स्पष्ट र दृढताका साथ-सन्देश दिन्छौं:
• हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो ।
• हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो ।
• हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो ।
यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् ।
सुनिने एउटा संकल्प,
कार्यमा उत्रने,
र हातेमालो गर्दै- भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने संकल्प ।
महिला तथा सज्जनबृन्द,
जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन ।
यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो ।
यसले सबै थोकलाई लपेट्छ- हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि ।
कुनै पनि राष्ट्र यसबाट अछुतो छैन ।
कुनै पनि समाज पूर्ण सुरक्षित छैन ।
तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् ।
ती गरिबहरू,
ती अत्यन्त असुरक्षितहरू,
ती हिमाली र कम विकसित राष्ट्रहरू ।
नेपाल पनि तीमध्ये एक हो ।
यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन ।
तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं ।
हिमनदीहरू पग्लिरहेका छन् ।
वर्षा अनिश्चित बन्दै गइरहेको छ ।
पहिरोहरूले घर-बास बगाइरहेका छन् ।
बाढी र खडेरी अकस्मात आउँछन् ।
तर अझै, हामी डटिरहेका छौं ।
हाम्रा उत्सर्जनहरू न्यून छन्-लगभग नगण्य ।
तर वाताबरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् ।
हाम्रा हिमालय- पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन् ।
हाम्रा जंगल- जसले हाम्रो आधा भू-भाग ढाकेका छन्- कार्बन सोस्छन्, आशाको सास फेर्छन् ।
हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन्- लाखौंको प्यास मेटाउछन् ।
हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन् - धरतीको समृद्ध जैविक विविधतालाई सँ संहाल्छन् ।
नेपालले सन् २०४५ सम्ममा खुद-शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ ।
विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले ।
हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौं ।
हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं ।
हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं ।
तर हामी यी काम एक्लै गर्न सक्दैनौं ।
कुनै देशले पनि एक्लै गर्न सक्दैन ।
जलवायु परिवर्तन एक वैश्विक आपत् हो ।
यसको समाधान पनि वैश्विक हुनुपर्छ ।
एक यस्तो उपाय- न्यायमा आधारित ।
उत्तरदायित्वमा आधारित ।
ऐक्यवद्धताबाट उत्प्रेरित ।
जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ ।
जसले सबैभन्दा बढी प्रदूषण गर्छन्-उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ ।
उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ- वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिबृद्धिमार्फत् ।
र, हामी हिमाललाई नबिर्सौं ।
विश्वका वार्ताहरूमा तिनीहरू प्राय: जसो उपेक्षित हुन्छन् ।
तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् ।
तिनैले पानीको भण्डारण गर्छन् ।
तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् ।
तिनैले जीवनको रक्षा गर्छन् ।
जब हिमाल पग्लिन्छन् - उपत्यकाहरू पीडित हुन्छन् ।
नदीहरू सुक्छन् ।
बालीहरू नष्ट हुन्छन् ।
सागरहरू उर्लन्छन् ।
जीवन विखण्डित हुन्छ ।
हिमालय-हाम्रो तेस्रो ध्रुव-विश्व औसतभन्दा छिटो तात्दैछ ।
हिमनदीहरू हराउँदैछन् ।
हिमतालहरू फैलिंदैछन् ।
तटीय क्षेत्रका करोडौं मानिसहरू-जोखिममा छन् ।
हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ ।
"हिमालदेखि महासागरसम्म" को सोच ।
हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्- हामीले ध्यान दिनुपर्छ
विशेष वित्तीय सहयोगसहित ।
तदनुकूलका नीतिहरू सहित ।
हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ ।
जलवायु-उत्थानशील बालीहरू बढाउनु पर्छ ।
महिला र युवालाई अगाडि ल्याउनु पर्छ ।
र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ ।
आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं ।
पूर्व सूचना प्रणाली निर्माण गरौं ।
डाटा साझेदारी गरौं ।
सीमापार सहकार्य मजबुत पारौं ।
र सबैभन्दा महत्वपूर्ण-हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं ।
यसरी नै हो-दीगो उत्थानशीलता बढाउने ।
यसरी नै हो-पृथ्वीको सम्मान गर्ने ।
र यसरी नै हो-हाम्रो साझा भविष्य जोगाउने ।
महिला तथा सज्जनबृन्द,
हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्-
अलग रहने भनेर होइन,
अझै माथि उठ्न सकिन्छ भनेर हो ।
तिनीहरूले दृष्टिकोण दिन्छन् ।
तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन् ।
त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ-
सङ्कीर्ण स्वार्थहरूभन्दा माथि ।
साझा उच्च उद्देश्यतर्फ ।
आउनुहोस्, हामी हातेमालो गरौं ।
साहस र संवेदनाका साथ अगाडि बढौं ।
न्यायपूर्ण भविष्यका लागि ।
दीगो पृथ्वीका लागि ।
हामीलाई चाहिन्छ-नवीन संकल्प ।
साहसी विचार ।
नयाँ लगानी,
र, क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य ।
हरित, उत्थानशील र दीगो भविष्य-रोजाइ मात्र होइन ।
अघि बढ्ने एकमात्र बाटो हो ।
सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो-
सुन्ने-गुन्ने, बोल्ने, र बुझ्ने वैश्विक मञ्च ।
विश्वास निर्माण गर्ने एक साझा थलो ।
सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता-
र मानिसहरूबीचको समानता-
दूरको सपना होइन, जीवित यथार्थ बनोस् ।
आउनुहोस्, हामी आरोहण गरौं-
उत्थानशीलताको चुचुरोतिर
न्यायको शिखरतिर
र साझा आशामा निर्माण भएको भविष्यतिर ।
हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं ।
यस संवादभरि, तपाईंहरूका आवाजको- तपाईंहरूको दृष्टिकोणको ।
नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस्-
यस सगरमाथाको भूमिमा ।
यस बुद्धको भूमिमा ।
धन्यवाद !