रुकुमपूर्व, जेठ ७ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान रुकुमपूर्वको सिस्ने गाउँपालिका ५, रुकुमकोटमा पुगेको छ ।

त्यसअवसरमा अध्यक्ष दाहालले जनयुद्धका सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपांग योद्धाहरूको अवस्थाबारे जानकारी लिनुका साथै भेटघाट पनि गरे ।

घाइते तथा अपांग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनःस्थापनाको माग गरेका थिए । त्यस्तै विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरिएको थियो । सहभागीहरूको माग सुन्दै अध्यक्ष दाहालले उनीहरूको पीडा र आवाजलाई गम्भीर रूपमा लिएको बताए । उनले यसका लागि राज्य जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले माओवादी पार्टी सरकारमा रहँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको, शान्तिप्रक्रियासम्बन्धी बाँकी कार्य पूरा गर्न संसद्‌बाट कानुन निर्माण गरिएको र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुनमै व्यवस्था गरिएको दाबी गरे । उनले शान्तिप्रक्रिया टुंग्याउन दुईवटा समिति गठन भइसकेको जानकारी पनि दिए । पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोहीअनुसार ती समितिले काम गर्ने उनले बताए ।

पार्टी एकताका विषयमा उनले आगामी जेठ १२ गते नेपा: राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिए । साथै, बाबुराम भट्टराईसँगको अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तका आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको जनाए ।