
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत काममा केन्द्रित रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार जनताका निराशा अन्त्य गर्दै आर्थिक विकासमार्फ जीवनस्तर उकास्ने काममा प्रयासरत रहेको उल्लेख गरे।
अहिलेको सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म निरन्तर रहने दाबी गर्दै महासचिव पोखरेलले सरकारविरुद्ध कसैले नकारात्मक प्रचार गरे त्यो निराधार हुने धारणा राखे । सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार निरन्तर रहने उनले बताए ।
वर्तमान सरकारको नीति र योजनाका कारण पछिल्लो समय मुलुक आर्थिक रूपमा सबल बन्नुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको महासचिव पोखरेलले दाबी गरे । ‘दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि बोलपत्र आह्वान भएको छ, यथाशीघ्र काम सुरु हुन्छ ,’उनले भने, ‘लमही–घोराही सडकलाई वैकल्पिक मार्गका रूपमा अगाडि बढाउने योजना सरकारले बनाएको छ।’
उनले दाङको टरिगाउँ विमानस्थललाई विस्तार गरिने जनाउँदै पिउने पानी र सिँचाइका लागि पनि विभिन्न योजना बनाइएको बताए । ‘दाङको औद्योगिक क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने काम यथाशीघ्र सुरु हुनेछ,’ उनले भने, इन्धन डिपो निर्माणको विषयमा सरोकार भएकासँग छलफल भइरहेको छ ।’
महासचिव पोखरेलले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गाको कित्ताकाट्को काम आगामी आर्थिक वर्षदेखि नै अगाडि बढाइने बताए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको उनले जानकारी दिए ।