
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेको विषयमा सर्वोच्चको आदेशपछि रास्वपाले शनिबार बस्ने गरी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सचिवालय बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ भने केन्द्रीय समिति बैठक भने अपराह्न ४ बजे बोलाइएको छ । यी दुवै बैठक भर्चुअल रुपमा बस्ने रास्वपाले जनाएको छ ।
यसैगरी पार्टीको केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने पनि रास्वपाले जनाएको छ । उसो त रास्वपाले पार्टी सभापति लामिछानेका सम्बन्धमा सर्वोच्चले आदेश जारी गरेसँगै केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठक शुक्रबार राति नै बसेको थियो ।
सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको छ ।