
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १० जनयुद्धले एकात्मक र केन्द्रिकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय र क्षेत्रका जनतालाई राज्यमा बराबरी हकदार बनाएको बताएका छन् ।
मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला गाउँपालिका पाल्पाको संयुक्त भेलालाई पाल्पाको झोकदीमा सम्बोधन गर्दै पुनले सबै क्षेत्र, जाति र सामुदायका नागरिक राज्यका नजरमा समान रहेको विषय संविधानमा लेखेको मात्र नभई कार्यान्वयनमै गइसकेको बताए । एक लाख हाराहारीमा रहेको निजामती प्रशासनमा २८ हजार महिलाको प्रवेश भएको तथा सरकारी अड्डामा दलित, जनजाति, मधेसी र थारु कर्मचारी भेटिने गरेको उल्लेख गरे ।
‘२८ हजार महिला समावेशीबाट निजामती सेवामा प्रवेश गरिसकेका छन् । आज तपाईं अड्डा अदालतमा जाँदा जनजाति, महिला, दलित, मधेसी सबै जातका मानिस कर्मचारीका रुपमा देख्नुहुन्छ,’ पुनले भने, ‘यो कमरेड प्रचण्डको नेतृत्वमा भएको जनयुद्धका कारण सम्भव भएको हो । यो ऐतिहासिक उपलब्धि हो, क्रान्ति हो ।’
यद्यपि पुनले प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव र सहसचिव भइसकेका र उत्पीडित समुदाय र जातजातिभित्रका धनी मानिसले समावेशीत कोटाबाट अवसर लिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्नुपर्ने बताए । ‘प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव, सहसचिव भइसकेकाहरुले र निजी शैक्षिक संस्थाबाट राम्रो शिक्षा पाएकाहरुले समावेशितामा अवसर पाउनुहुन्न । मन्त्री भइसकेका मेरो छोराछोरीले समावेशिताबाट होइन, प्रतिस्पर्धाबाट आउनुपर्छ । जनजातिले पाउनुपर्छ तर, गरिब, किसान र पढ्न नपाएका जनजातिका छोराछोरीले अवसर पाउनुपर्छ । दलितले पाउनुपर्छ तर, नेता दलितले होइन, कमजोर र पछि परेको दलितले पाउनुपर्छ । मगरको नाममा काठमांडौंका महंगा निजी स्कुलमा पढेको मगरले समानुपातिकको कोटाबाट अवसर लिने होइन, पाल्पाको गाउँमा सरकारी विद्यालय पढेको मगरले पाउनुपर्छ,’ उनले भने ।
शासकको भाषा नै सबैको भाषा, शासकको संस्कृति सबैको संस्कृति र शासकले लगाउने पोसाक नै राष्ट्रिय पोसाक भन्ने व्यवस्था हटाएर गणतन्त्रमा सबै जातजाति, सम्प्रदायका भाषा, संस्कृति र पोसाकलाई राष्ट्रिय मान्यता दिइनु ठुलो उपलब्धि भएको पुनको भनाइ थियो ।
फरक प्रसंगमा पुनले १८ महिना सरकारमा रहँदा प्रचण्डले भ्रष्टाचारका फाइल खोलेपछि संसद्का दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको टिप्पणी गरे ।
सरकारबाट हटेपछि आफूहरुको ध्यान व्यवस्थाको सर्भिसिङ गर्नतिर गएको भन्दै पुनले त्यसैका लागि हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान सकाएर हाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जुटेको बताए ।
उनले आफूहरु सरकारको अंकगणितमा नलाग्ने पनि स्पष्ट गरे । ‘हामी सत्ताको गणितीय खेलमा छैनौं, ०८४ पर्खेर बस्छौं,’ पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौं । गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौं । गल्ती सु्धार गरेर जनतातिर फर्कन चाहन्छौं ।’