
सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अध्यागमन विभागको एक कर्मचारी पक्राउ परेको घटनालाई लिएर गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
आइतबार भद्रकालीमा आयोजित फोटो प्रदर्शनीमा सहभागी हुन जाँदै गर्दा उनले छानबिन अघि निष्कर्ष निकाल्न नहुने बताए । ‘एउटा कर्मचारी पक्राउ पर्छ भनेर गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र?’ उनले प्रतिप्रश्न गरे ।
त्यसो त गृहमन्त्री लेखकले शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै आफ्नो राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने बताइसकेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको उनको भनाइ छ।