
नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठ नौ वर्षपछि पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किंदै छन्। श्रेष्ठले नौ वर्षअघि माओवादी पार्टी त्याग गरी अलग बाटो समातेका थिए। अब भने उनी फेरि पुरानै घरमा फर्किन लागेका छन्।
श्रेष्ठको नेतृत्वमा आज माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता घोषणा गरिँदैछ। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० बजे औपचारिक कार्यक्रममार्फत एकता सार्वजनिक गरिने भएको हो।
२०७९ चैत ३ मा भएको तीन बुँदे सहमतिका आधारमा आज एकता घोषणा हुन लागेको हो। पूर्वअध्यक्ष महिन्द्र राय यादवले माओवादीसँगको एकता प्रक्राप्रति चासो नदेखाएपछि श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गर्दै नेतृत्व हातमा लिएका थिए।
आइतबार ललितपुरको एकान्तकुनामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले श्रेष्ठलाई संयोजक तोक्दै माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको हो। बैठकमा २९ कार्यकारिणी सदस्यमध्ये १७ र १६० केन्द्रीय सदस्यमध्ये ९९ जना श्रेष्ठको पक्षमा उभिएका थिए।