काठमाडाैं, जेठ १२ :

नेपाल समाजवादी पार्टी (नेसपा)सँगको पार्टी एकताबारे नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा छलफल भएको छ।

माओवादी केन्द्र र नेसपाबीच २०८० चैत ३ गते पार्टी एकता गर्ने लिखित सहमति भए पनि नेसपा अध्यक्ष महिन्द्र राय यादव पछाडि हटेपछि सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा एकताको प्रक्रिया अघि बढाइएको हो।श्रेष्ठ नेतृत्वको समूहले आज माओवादी केन्द्रसँग औपचारिक एकता घोषणा गर्ने तयारी गरेका छन्।

श्रेष्ठले आइतबार पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्दै नेतृत्व ग्रहण गरेका छन्। उनका अनुसार २९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय सदस्यमध्ये ९९ जना एकताको पक्षमा छन्।

यता अध्यक्ष यादवले भने श्रेष्ठको कदमलाई अवैधानिक भन्दै उनी पार्टी एकता नभई माओवादीमा व्यक्तिगत रूपमा प्रवेश गर्न लागेको टिप्पणी गरेका छन्।