काठमाडौं, जेठ १२ :

नेकपा माओवादी केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गरी छानबिनमा सहयोग गर्न आग्रह गरेको छ । 

नेपालीहरूलाई भिजिट भिसामा विदेश पठाएर ठगी भएको घटनामा गृहमन्त्री  लेखकको संलग्नता रहेको भन्दै राजीनामा दिन माओवादीले माग गरेको हो। पार्टीको पदाधिकारी बैठकपछि माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै पद छोड्नुपर्ने बताए।

‘गृह मन्त्रालयका कर्मचारी यो घटनामा संलग्न छन् भन्ने कुरा आएका छन्,’ सापकोटाले भने, ‘निष्पक्ष छानबिनको लागि गृहमन्त्रीले बाटो खुला गरिदिनुपर्छ। कांग्रेसभित्रैबाट पनि राजीनामाको माग आएको छ।’ सापकोटाले ढिलो गरी छानबिन गर्दा राज्यको बदनाम हुने भन्दै चाँडै निर्णय लिनु जरूरी भएको बताए।

यसैबीच माओवादी केन्द्रसँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको बैठकले ती दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको  प्रवक्ता सापकोटाले जानकारी दिए । 

सोही निर्णयबमोजिम आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ । बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष निकालेको छ । गण्डकी प्रदेशको कास्कीमा पुगेपछि पहिलो चरणको अभियान सम्पन्न जानकारी दिँदै प्रवक्ता सापकोटाले अब छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने बताए ।

‘यो अभियान निकै नै प्रभावकारी भएको छ । जनताको उपस्थिति, आकर्षण गुणात्मक ढङ्गले बढिरहेको छ,’ उनले भने, ‘अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ सश्लेषण गर्न मजबुद आधार तयार गरेको छ ।’