काठमाडौं, जेठ १२ :

माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले श्रेष्ठलाई पुनः पार्टीको महत्वपूर्ण तहमा जिम्मेवारी दिँदै सचिव बनाएको हो।

श्रेष्ठ २०७२ सालको असोज ९ गते माओवादी पार्टी परित्याग गर्दा पोलिटब्यूरो सदस्यको हैसियतमा थिए। उनले तत्कालीन पार्टी उपाध्यक्ष बाबुराम भट्टराईसँगै माओवादी छोडेर नयाँ शक्ति पार्टी गठनमा सक्रिय भूमिका खेलेका थिए। पछिल्लो समय उनी नेपाल समाजवादी पार्टी (नेसपा) का नेता थिए ।

श्रेष्ठ हालै केही अन्य नेताहरूसहित माओवादी केन्द्रमा पुनः प्रवेश गरेका हुन्। यद्यपि उनीसँगै फर्किएका अन्य नेताहरूको पदीय जिम्मेवारी भने अहिलेसम्म टुंगो लाग्न बाँकी छ।

पार्टीभित्र लामो अनुभव, संगठन निर्माणमा सक्रियता र वैचारिक स्पष्टताका कारण श्रेष्ठलाई पुनः नेतृत्व तहमा ल्याइएको माओवादी नेताहरु बताउँछन्। सचिव पदमा नियुक्तिपछि अब उनले पार्टीको संगठन विस्तार, सांगठनिक एकता र रणनीतिक समन्वयमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपाबीच पार्टी एकता (तस्बिरसहित)