काठमाडौं, जेठ १२ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले आगामी दिनमा उत्तेजक खालका अभिव्यक्ति नदिन आग्रह गरे।

‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भन्ने मान्यता लिएका छौं,’थापाले भने, ‘प्रधानमन्त्री स्वयंले यस्ता उत्तेजनात्मक कुरा गर्नु त झनै आपत्तिजनक र अकल्पनीय कुरा हो।’

प्रधानमन्त्री ओलीले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए।

‘प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु ठीक होइन,’ उनले थपे, ‘भविष्यमा यस्ता कुरा दोहोरिनु हुँदैन भन्ने हाम्रो स्पष्ट आग्रह छ।’

महामन्त्री थापाले यस्ता अभिव्यक्तिले राजनीतिक माहोललाई अशान्त बनाउन सक्ने भन्दै सचेत रहन आग्रह गरे।