काठमाडौं, जेठ १३ :

गृहमन्त्रीको राजीनामाको मागसहित विपक्षी दलको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। मंगलबारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको भए पनि त्यसपछि पनि संसद् सञ्चालनमा आउन सकेको छैन।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा जिम्मेवार ठहर गर्दै राजीनामा माग गरेपछि संसद् अवरुद्ध भएको हो। उनीहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग पनि राखेका छन्।

विपक्षी सांसदहरूले ‘राजीनामा बिना संसद् अघि बढ्दैन’ भन्दै निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए। यतिबेला सभामुख संसद् पुनः सञ्चालनको लागि आन्तरिक छलफलमा जुटिरहेका छन्। उनी सत्तारूढ गठबन्धन, प्रमुख प्रतिपक्षी दल र संसदीय दलका नेतासँग निरन्तर संवाद गरिरहेका छन्।

सत्तापक्षका सांसदहरूले भने गृहमन्त्री आफैं संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको भन्दै उनलाई बोल्न अवसर दिनुपर्ने माग गरेका छन्। तर विपक्षीले जवाफको भन्दा पहिले राजीनामालाई प्राथमिकता दिनुपर्ने अडान लिएका छन्।