
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बंगलादेशी इक्रामुल हसन शाकिल र नेपाली पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।
ललितपुरमा एक कार्यक्रमबीच यूएनडीपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो । शाकिलले पहिलोपटक सगरमाथा आरोहण गरेका हुन् भने पूर्णिमाले भने एकै सिजनमा तीनपटक सगरमाथा चढ्दै इतिहास रचेकी छन् ।
उनी एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी छन् । प्लास्टिक प्रदूषणविरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढेका दुवैले हिमालका समस्या सरकारले विकासका एजेन्डासँग जोड्न आवश्यक रहेको बताए ।
सम्मान कार्यक्रममा उनीहरुले आफूले हिमाल आरोहणका क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताएका थिए ।
सम्मान कार्यक्रममा यूएनडीपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उनीहरुले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्ने धारणा राखे । उनले हिमालका समस्या सरकारको विकासको एजेन्डासँग जोड्न आवश्यक रहेको बताए ।
‘यूएनडीपीको हिमालको संरक्षण गर्न उहाँहरुको जुन जागरुकता छ त्यसको सदुपयोग गर्न खोजेको हो । उहाँहरुले आफूले भोगेको समस्या र हिमालमा देखेको दुर्गतिको विषयलाई सरकारको विकासको एजेन्डासँग कसरी लिंक गर्न सकिन्छ । त्यो आवश्यक पनि छ,’ उनले भने ।
उनले मानव जीवनको लागि हिमालको आवश्यकता अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सहकार्य र समन्वय आवश्यक रहेको पनि धारणा राखे ।