
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमाको पालना गरिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले मेहेनतसाथ काम गरे राजस्व लक्ष्य सजिलै पूरा गर्न सकिने बताए। ‘कहाँबाट आम्दानी हुन्छ र त्यसको खर्च कसरी हुने भन्ने कुरा स्पष्ट छ,’पौडेलले भने, ‘आन्तरिक ऋण राष्ट्रिय वित्त आयोगको सुझाव अनुसार प्रक्षेपण गरिएको हो।‘
उनले वैदेशिक सहयोगको सम्भावित सीमालाई ध्यानमा राखेर स्रोत अनुमान गरिएको उल्लेख गर्दै बजेटको प्रभावकारी कार्यान्वयनबाट आर्थिक वृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे। साथै, सहकारी, नवप्रवर्तन, पूर्वाधार निर्माण, र युवालाई लक्षित गरेर बजेट केन्द्रित गरिएको उनले बताए।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट विगतको निरन्तरताजस्तै रहेको भन्दै यसले अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने टिप्पणी गरे। उनले बजेटमा किसान, रोजगारी र आन्तरिक स्रोतसँग जोडिएका कार्यक्रम नभएको उल्लेख गरे।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले विगतको कमजोरी सुधार्दै बजेट कार्यान्वयनमा समन्वय बढाइएको बताए। उनले बजेट युवामैत्री भएको र उनीहरूलाई उत्प्रेरित गर्ने काम भएको दाबी गरे।
व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूले बजेटलाई समग्रतामा सकारात्मक भनेका छन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रविधि, पर्यटन र खनिज स्रोतको प्रयोगलाई बजेटले प्राथमिकता दिएको बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेट विकासमुखी र आइटीमैत्री भएको भन्दै प्रशंसा गरे।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालले बजेटले निजी क्षेत्रको मनोबल बढाउने खालको रहेको बताए। निर्माण व्यवसायी महासंघ, अटोमोबाइल संघ, इपपान, र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूले पनि बजेट सकारात्मक, यथार्थपरक र निजी क्षेत्रमैत्री रहेको प्रतिक्रिया दिएका छन्।
अन्त्यमा, नाफिजकी अध्यक्ष मेनुका कार्कीले बजेट कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताइन्। सरकारले यही जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट संसद्मा प्रस्तुत गरेको थियो।