
कांग्रेस महामन्त्री गगनकुमार थापा। फाइल फोटो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवाभन्दा सक्षम व्यक्ति प्रधानमन्त्री चलाउन सक्ने बताएका छन्।
ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीभित्र दर्जनौँ व्यक्ति देउवाभन्दा राम्रो प्रधानमन्त्री बन्न सक्ने विश्वास व्यक्त गरे।
थापाले वर्तमान सभापति शेरबहादुर देउवा केही महिनापछि पुनः प्रधानमन्त्री हुने चर्चा भइरहे पनि कांग्रेसभित्रै दर्जनौँ व्यक्ति देउवाभन्दा सक्षम रूपमा प्रधानमन्त्री चलाउन सक्ने विश्वास व्यक्त गरे। यसका लागि सभापतिले अवसर दिनुपर्ने उनको भनाइ थियो ।
उनले नेपालको राजसंस्था संवैधानिक हुन नसक्ने दाबी गरे। ‘नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले न हिजो, न भोलि, कसैले पनि यसलाई संवैधानिक बनाउन सक्दैन,’ उनले भने, ‘हाम्रो बहस संवैधानिक राजसंस्था वा राजतन्त्र होइन, नेपालमा राजा रहन्छ कि गणतन्त्र भन्ने हो।’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनले राजतन्त्र पुनःस्थापनाको खुला प्रतिस्पर्धामा आउन चुनौती पनि दिए।