
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कीर्तिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताएका छन् । माओवादी केन्द्रको कीर्तिपुर नगर समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गरे । उनले यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गरे ।
‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’ उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्यौं, डा. शिवशरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं । हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौं ।’
अध्यक्ष दाहालले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकारविरुद्ध लागेको उल्लेख गरे । ‘जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए । तर यही काम बिचौलियालाई मन परेन,’ उनले भने, ‘त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो ।’
उनले सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमीक्षा गर्दै देशव्यापी जनतासँग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिए । ती अभियानअन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उनले बताए ।
अध्यक्ष दाहालले देशव्यापी अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद भइरहेको बताए । उनले भने, ‘हामी जनतासँगै खायौं, सँगै बस्यौं, सहिद तथा बेपत्ता परिवारसँग आत्मीय सम्बन्ध बनायौं । हामी जनतासँग एकाकार भएर अगाडि बढेका छौं । जनतामा माओवादीप्रति विश्वास र भरोसा जाग्दै गएको छ ।’
उनले तराईमा झन्डै करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद भएको छ र जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारीको बोध गराएको बताए ।
त्यस अवसरमा अध्यक्ष दाहालले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले नेवार समुदायलाई प्राथमिकता दिन पोखराबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियानलाई जेठ २१ पछि सारिएको समेत बताए ।
नेवार संस्कृतिमा समाजवादको भ्रूण रहेको उल्लेख गर्दै उनले भने, ‘समाजवादी संस्कृतिको भ्रूण नेवार समुदायमा रहेको छ । समाजवादको खोजी नेपाली संस्कृति, जाति र परम्परामै गर्नुपर्छ ।’
अध्यक्ष दाहालले हुलाकी अभियानमा तराईमा ८-९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिए । उनले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि थप तीनवटा पार्टीसँग नि:सर्त एकता गरिने जानकारीसमेत दिए ।
‘अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस-एमाले पार्टी एउटै होइनन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ,’ अध्यक्ष दाहालको दाबी छ ।
उनले माओवादी केन्द्र सरकारमा जाँदा पटक-पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उल्लेख गरे । ‘हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो । उनीहरूको रोग त फेरि सरुवा रोग हो । अब जनताको घर-घरमा गएर त्यसको उपचार गर्छौं । हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं,’ उनले भने ।
अध्यक्ष दाहालले पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पारे । उनले जनतामाझ गएर व्यवहारबाटै माओवादीलाई सच्याएर जनताको असली पार्टीको रूपमा माओवादीलाई अगाडि बढाउने प्रतिबद्धता पनि दोहोर्याए ।