
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटोजात्रामा राष्ट्रप्रमुखका हैसियतमा पौडेल सहभागी बनेका हुन् ।
गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।
त्यसअवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए ।
भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो ।
गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको छ ।