
नेकपा (एमाले) का सांसद सूर्य थापाले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा बसेको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफल भइरहेको बेला सांसद थापाले उक्त प्रस्ताव सार्वजनिक गरेका हुन्।
गभर्नर विश्वनाथ पौडेलसहितको सहभागिता रहेको छलफलमा थापाले राष्ट्रनिर्माता शाहको योगदानको स्मरण गर्दै तस्बिर नोटमा राख्नु उपयुक्त हुने तर्क प्रस्तुत गरे।
थापाले आफू राजावादी नभई गणतन्त्रवादी रहेको स्पष्ट पार्दै भने, ‘म गणतन्त्र ल्याउन लडेको मान्छे हुँ। तर नेपालको एकीकरण गर्ने व्यक्ति पृथ्वीनारायण शाहको फोटो नोटमा राख्नु उपयुक्त हुन्छ।’
उनले नोटमा यस्ता ऐतिहासिक व्यक्तित्वको तस्बिर राख्दा त्यसको इज्जतसमेत बढ्ने दाबी गरे। थापाको भनाइमा, ‘नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो नोटमा राखे नोटको महत्त्व र मूल्य नै फरक ढंगले प्रस्तुत हुन्छ।’
सांसद थापाले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका अन्य पात्रहरूलाई पनि नोटमा समेट्नुपर्नेमा जोड दिए। विशेषतः बुद्धको तस्बिर राखे नोटको अन्तर्राष्ट्रिय मान्यता र सन्देश अझ सशक्त हुने उनको भनाइ थियो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधनका सन्दर्भमा थापाले राखेको यो प्रस्तावले अब संसदमा वैचारिक बहसको ढोका खोलेको देखिन्छ। ऐतिहासिक योगदानका आधारमा नोटको डिजाइन परिवर्तन गर्ने विषयमा अन्य सांसद र सरोकारवालाको धारणा आउन बाँकी नै छ।