
अमेरिकाले नेपाली नागरिकका लागि भिसा प्रक्रियामा कडाइ गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक सूचना जारी गर्दै अबदेखि प्रत्येक भिसा आवेदकले कडा सुरक्षा जाँच प्रक्रियाबाट अनिवार्य रूपमा गुज्रनुपर्ने जनाएको छ।
दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रत्येक यात्रुले कानुन कार्यान्वयन निकायको रेकर्ड तथा आतंकवादविरोधी डाटाबेसमा नाम जाँच हुने कडा सुरक्षा प्रक्रिया पूरा गर्नुपर्छ। जबसम्म यी सम्पूर्ण जाँचहरू सम्पन्न हुँदैनन्, तपाईंको भिसा जारी हुनेछैन।’
अमेरिकी पक्षले राष्ट्रिय सुरक्षा आफ्ना लागि उच्च प्राथमिकता भएको स्पष्ट पारेको छ। दूतावासको भनाइमा, ‘संभावित जोखिम बोकेका व्यक्तिलाई अमेरिकातर्फको यात्रा निषेध गर्नु अमेरिकी जनताको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो।’
पछिल्लो समय नेपालमा केही दलाल तथा सरकारी कर्मचारीको संलग्नतामा ठूलो रकम लिएर भिजिट भिसामा नेपाली नागरिकलाई गैरकानुनी रूपमा अमेरिका पठाउने प्रकरण सार्वजनिक भइरहेका छन्। यसैलाई मध्यनजर गर्दै अमेरिकाले भिसा प्रक्रियामा थप कडाइ गरेको अनुमान गरिएको छ।