काठमाडौँ, भदौ २१ :

दक्षिण एसियाली मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आउनुभएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले आज राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो । 

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व  यसैबाट स्थापित हुने धारणा व्यक्त गर्नुभयो । उहाँले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिनुभयो ।

उहाँले भन्नुभयो- ‘समग्र  दक्षिण  एसिया क्षेत्रमा  स्वच्छ, पारदर्शी र विश्वसनीय  निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्था मार्फत यहाँहरूको अमूल्य योगदान निरन्तर रुपमा रहनेमा म विश्वस्त छु।’

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरूसँग यस संस्थाको साझा उद्देश्यहरू प्राप्त गर्न र चुनौतीविरुद्ध सामुहिक रुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल प्रतिवद्ध रहने पनि स्पष्ट पार्नुभयो ।

भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औं सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा भारत, पाकिस्तान, बङ्गलादेश, मालदिभ्स लगायतका सार्क मुलुकका निर्वाचन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।