
माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेडबीच नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक सेयर निष्कासनका लागि संस्थागत परामर्श सेवाका साथै निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने विषयमा शुक्रबार सम्झौता भएको छ ।
नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात् कुल ३८ लाख ४० हजार कित्ताको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले हुन आउने रकम ३८ करोड ४० लाख रुपैयाँबराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे क्यापिटललाई नियुक्त गरेको हो ।
त्यसअवसरमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्कासनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नर्थ समिटले लमजुङको मर्स्याङ्दी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत् आयोजना बनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटले धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ ।