चितवन, जेठ २४ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले जनताको समस्या बुझ्न पार्टी जनतामाझ सक्रिय भएको बताएका छन्।

आज चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले जनताको जीवनसँग जोडिएका मुद्दा बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले अन्य दलहरूसँग कार्यगत एकता र सम्भावित एकीकरणको विषयमा पनि माओवादी केन्द्र अघि बढिरहेको बताए।

अर्को प्रसङ्गमा उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भएको अख्तियारको अनुसन्धान प्रतिशोधपूर्ण भएको टिप्पणी गरे। ‘जनप्रतिनिधिलाई जवाफदेही बनाउनु राम्रो हो, तर नीतिगत निर्णयलाई दुरुपयोग गर्दा प्रतिशोध हुन्छ,’ उनले भने।

भिजिट भिसासम्बन्धी विषयमा छानबिन गर्न सरकारले आयोग गठन गर्नुपर्नेमा समेत उनले जोड दिए। संसदमा उठेको प्रश्नपछि सरकारले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने भन्दै माओवादी केन्द्रले त्यसका लागि आयोगको माग गरिरहेको उनले बताए।