
राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजिरीलाई लिएर उत्पन्न विवादले स्थिति तनावपूर्ण बनेको छ। निलम्बित नगरप्रमुख भीमराज यादवका समर्थकले कार्यालयमा तोडफोड गर्दै कार्यवाहक नगरप्रमुख इसरत परवीन र उनका समर्थकमाथि आक्रमण गरेका छन्।
कार्यवाहक मेयर परवीनले शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हाजिर गराएपछि स्थिति थप चर्किएको हो। यादव समर्थकले कार्यालयको ढोका, झ्याल, सिसी क्यामरा लगायत संरचनामा तोडफोड गर्नुका साथै लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासमाथि कुटपिट गरेका छन्। घाइते शत्रुधनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
यसअघि निलम्बित मेयर यादवका समर्थकले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवाविरुद्ध तालाबन्दी गर्दै नौबुँदे मागसहित आन्दोलन गरिरहेका थिए। उनीहरूले साहलाई पुनः जिम्मेवारी दिनुपर्ने माग राखेका छन्।
तर, सामान्य प्रशासनले भोगेन्द्र यादवलाई जिम्मेवारी दिएपछि कार्यवाहक मेयर परवीनले विधिको शासनअनुसार काम अघि बढाएको बताएकी छन्। उनका अनुसार, अघिल्लो अधिकृतले नियमित उपस्थिति नजनाउँदा बजेटको १०–१५ प्रतिशत मात्रै खर्च भएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झडप भएको हो। सोमबार जिल्ला प्रशासन कार्यालयमा विवाद समाधान गर्न छलफल भए पनि सहमति नजुटेपछि मंगलबार ताला फुटाएर यादवलाई पदभार गराइएको थियो।
निलम्बित मेयर यादव लालपुर्जा वितरण, हटिया बजार व्यवस्थापन, सडक तथा नाला मर्मत, लामखुट्टे नियन्त्रण लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन्।